काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिका-४ स्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा कार्यरत एक हवल्दार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार कैलालीको गौरीगंगा नगरपालिका-५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल ब्यारेकस्थित आफ्नो बस्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
मृतक ढकालको शव घटनास्थलबाट आवश्यक प्रक्रिया पूरा गरी थप परीक्षणका लागि पठाउने तयारी भइरहेको जनाइएको छ। उनका दुई सन्तान रहेको बताइएको छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत सम्बन्धसँग जोडिएको विषयसमेत हुन सक्ने आशंका गरेको छ। सोही आधारमा थप जानकारी संकलनका लागि एक महिलालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।






