काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीलाई समयसापेक्ष बनाउन विभिन्न सुधार आवश्यक रहेको बताएका छन्।
संघीय संसद्को संसदीय सुनुवाइ समितिमा बुधबार बोल्दै बुर्लाकोटीले मतदाता सहभागिता, निर्वाचन व्यवस्थापन र प्रक्रियागत सुधारका विषयमा सुझाव प्रस्तुत गरेका हुन्।
उनले युवाको राजनीतिक सहभागिता अभिवृद्धि गर्न मतदान गर्ने न्यूनतम उमेर १६ वर्ष कायम गर्नुपर्ने धारणा राखे। नयाँ पुस्तालाई लोकतान्त्रिक प्रक्रियामा प्रारम्भदेखि नै जोड्न यस्तो व्यवस्था उपयोगी हुने उनको भनाइ थियो।
प्रमुख सचेतक बुर्लाकोटीले मतदाता नामावलीमा नाम समावेश गर्ने प्रक्रिया सहज बनाउनुपर्नेमा पनि जोड दिए। नागरिकता वा राष्ट्रिय परिचयपत्र प्राप्त गरेपछि सम्बन्धित व्यक्तिको विवरण स्वतः मतदाता नामावलीमा समावेश हुने प्रणाली विकास गर्न उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराए।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउने विषयमा सरकार र आफ्नो दल सकारात्मक रहेको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा लागू गर्न ढिलाइ गर्न नहुने बताए।
निर्वाचन खर्च घटाउन र मतदाताको सहज पहुँच सुनिश्चित गर्न मतदानका दिन यातायात सञ्चालनमा पूर्ण रोक लगाउने व्यवस्थामा पुनर्विचार गर्नुपर्ने उनको सुझाव थियो। मतदान केन्द्रको निश्चित क्षेत्रभित्र मात्र सवारी सञ्चालनमा प्रतिबन्ध लगाई अन्य स्थानमा आवागमन सहज बनाउँदा नागरिकलाई सुविधा पुग्ने र दलहरूको खर्चसमेत घट्ने उनले तर्क गरे।
बुर्लाकोटीले राजनीतिक दलबीचको एकीकरण स्वेच्छिक प्रक्रियाबाट हुनुपर्ने धारणा राखे। कानुनी बाध्यताभन्दा पनि विचार र आवश्यकताका आधारमा दलहरू एक हुन वा छुट्टै अस्तित्व कायम राख्न स्वतन्त्र हुनुपर्ने उनको भनाइ थियो।
यसैगरी, विगतका निर्वाचन अनुभव उल्लेख गर्दै उनले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सुरक्षा व्यवस्थापनमा निर्वाचन आयोग थप सक्रिय र गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए।
उनले निर्वाचन प्रणालीप्रति नागरिकको विश्वास बढाउन प्रक्रियागत सुधार, प्रविधिको प्रयोग र व्यवस्थापन पक्षलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।






