काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका चार वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयबारे जानकारी दिएका हुन्।
मन्त्रिपरिषद् बैठकले विभिन्न नौ वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। ती विधेयक आवश्यक प्रक्रिया पूरा गरी संसदमा प्रस्तुत गरिनेछन्।
यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ।
यसैगरी, शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।






