काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस प्रमुख सचेतक वासना थापाले कप्तानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
उनले सो घटनामा दर्जनौँ नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताइन् ।
‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ,’ थापाले भनिन्, ‘घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ र यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’ उनले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि कडा प्रश्न उठाइन् ।






