काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्ला हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक एकता र आपसी विश्वास कायम राख्न सबै पक्षलाई आग्रह गरेकी छन् ।
सुनसरी, सिरहा लगायतका जिल्लामा देखिएका तनावपूर्ण घटनाप्रति दुःख व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले संवेदनशील अवस्थामा नागरिकले संयमित व्यवहार गर्नुपर्ने बताएकी हुन् ।
उनले सार्वजनिक अपिलमार्फत अफवाह फैलाउने, घृणात्मक अभिव्यक्ति दिने तथा सामाजिक सम्बन्धमा असर पार्ने गतिविधिबाट टाढा रहन आग्रह गरेकी छन् । कुनै एउटा घटनालाई आधार बनाएर सम्पूर्ण समुदायप्रति अविश्वास वा द्वेषको भावना विकास गर्नु राष्ट्रिय हित, सामाजिक मूल्य र लोकतान्त्रिक संस्कार विपरीत हुने उनको भनाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भाव कायम गर्न राजनीतिक दलहरूले देखाएको सक्रियताको पनि प्रशंसा गरेकी छन् । काठमाडौँमा केन्द्रीय तहबाट तथा कोशी प्रदेश सरकारले प्रदेशस्तरमा शान्ति र सद्भावका लागि पहल अघि बढाएको विषय सकारात्मक रहेको उनको भनाइ छ ।
उनले वर्तमान परिस्थितिमा सबै समुदायबीच संवाद, सहकार्य र पारस्परिक विश्वासलाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरेकी छन् ।






