काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। धार्मिक वा सामाजिक सद्भावमा असर पुग्ने तथा शान्ति–सुरक्षा खलबल्याउने प्रकृतिका सामग्री साझा गर्दा कानुनी जटिलता निम्तिन सक्ने भन्दै प्रशासनले सचेत रहन अनुरोध गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल माध्यममा अपुष्ट समाचार, अफवाह, भ्रामक फोटो वा भिडियो पोस्ट गर्नुका साथै त्यस्ता सामग्रीलाई लाइक, कमेन्ट वा सेयर नगर्न सबैलाई अपिल गरेका छन्।
प्रशासनले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा कुनै पनि जुलुस वा भिडभाडमा सहभागी नहुन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।
त्यसैगरी, भावनामा बहकिएर कानुन आफ्नै हातमा लिन खोज्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा तोडफोडमा संलग्न हुने कार्य कानुनअनुसार दण्डनीय हुने उल्लेख गर्दै प्रशासनले सबैलाई संयम, जिम्मेवारी र कानुनी मर्यादा पालना गर्न आग्रह गरेको छ।






