काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय व्यवस्थालाई प्रभावकारी बनाउँदै प्रदेश सरकारलाई थप अधिकार सम्पन्न र सक्षम बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
तराई-मधेश क्षेत्रमा देखिएका पछिल्ला अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री शाहले संविधानको व्यवहारिक कार्यान्वयनबाट मात्रै संघीय संरचना मजबुत हुने धारणा व्यक्त गरेका हुन् ।
संविधान जारी भएपछि संघीयताको अभ्यास अघि बढिरहेको उल्लेख गर्दै उनले प्रदेश तहलाई आफ्ना अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्ने र संघबाट स्थानीय तहसम्म अधिकारको सहज हस्तान्तरण सुनिश्चित गर्ने दिशामा सरकार काम गरिरहेको बताए ।
प्रधानमन्त्री शाहले सरकारले ल्याएको बजेटले मुलुकका सबै क्षेत्र, समुदाय र वर्गलाई समेट्ने गरी समावेशी दृष्टिकोण अपनाएको पनि उल्लेख गरे । उनले राज्यका सबै नागरिकलाई समान व्यवहार गर्ने तथा प्रधानमन्त्री कार्यालय सम्पूर्ण नेपालीप्रति समान रूपमा उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा सहभागी तराई-मधेश क्षेत्रका नेताहरूले उक्त क्षेत्रसँग सम्बन्धित सामाजिक, प्रशासनिक, सुरक्षा तथा सुशासनका विषय उठाउँदै संघीय प्रणालीलाई थप प्रभावकारी बनाउने उपायबारे आफ्ना धारणा र सुझाव राखेका थिए ।






