काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका च्वाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएको ट्रकको खोजी गर्ने क्रममा शनिबार बिहान करिब ७:३० बजे मध्यबिन्दु नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रक फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्रकका चालक भने फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।






