काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका–४ गणेशचोकस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
हरिपुर नगरपालिका–५ लक्षीपुर निवासी पञ्चलाल चौधरीको मृत्यु भएको हो । उनी कामका लागि साइकलमा हरिपुरबाट हरिवनतर्फ आउँदै गरेका बेला सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
मधेश प्रदेश ०३–००२ ख ११९४ नम्बरको ट्रक ठक्कर दिएपछि पश्चिमतर्फ फरार भएको थियो। घटनापछि ट्रकको खोजीका लागि इलाका प्रहरी कार्यालय कर्मैयालाई सूचना दिइएको र खोजतलासका क्रममा बिहान करिब ७:३० बजे ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बारा जिल्लाको कोल्बी नगरपालिका–१६ निवासी २५ वर्षीय नरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखेको छ।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






