काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले नेपालगञ्जबाट ठूलो परिमाणको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार भारतको बाह्रपंखीबाट लागुऔषध खैरो हेरोइन ल्याई कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएका दुई जनालाई पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ बाट २०८३ साउन १८ गते सुशील भण्डारी र अरुण कुमार जयसवाललाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १५३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। थप अनुसन्धानका क्रममा जयसवालको घरमा खानतलासी गर्दा दराजभित्र लुकाइराखेको थप ४२५ ग्राम खैरो हेरोइन फेला परेको ब्युरोले जनाएको छ।
पक्राउ पर्नेमा बाँके नेपालगञ्ज-४ का ३० वर्षीय सुशील भण्डारी र नेपालगञ्ज-१० का ५५ वर्षीय अरुण कुमार जयसवाल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट कुल ५७८ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु, दुई थान मोबाइल, नेपाली रुपैयाँ १ लाख ८० हजार र भारतीय रुपैयाँ २ लाख १४ हजार बरामद गरेको छ।
ब्युरोका अनुसार जयसवाल यसअघि पनि लागुऔषध खैरो हेरोइन कारोबारसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। उनी २०७५ असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेको र सो मुद्दामा तीन वर्ष कैद भुक्तान गरी छुटेको अभिलेखबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।






