काठमाडौँ । सरकारले केही सहसचिवको सरुवा गर्ने तयारी गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचना कार्यान्वयन, कर्मचारी मिलान तथा नियमित खटनपटनलाई निरन्तरता दिने क्रममा बुधवार(हिजो)को मन्त्रिपरिषद् बैठकबाट सीमित संख्यामा सहसचिवहरूको सरुवा गर्ने तयारी भएको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार यसपटक कम्तीमा तीनदेखि पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर हुने सम्भावना छ। सोही क्रममा काठमाडौँ महानगरपालिकाले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउने भएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई बुधबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त भएको पदमा नयाँ सहसचिव खटाउने तयारी गरिएको स्रोतले जनाएको छ। उक्त जिम्मेवारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको नाम चर्चामा रहेको जनाइएको छ।
उच्च स्रोतका अनुसार कार्यसम्पादन, इमानदारी र प्रशासनिक अनुभवका आधारमा सुवेदीलाई जिम्मेवारी दिने सम्भावना बढी रहेको बताइएको छ। यद्यपि यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद्को निर्णयपछि मात्र औपचारिक हुनेछ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कार्यरत एक सहसचिवलाई अन्यत्र सरुवा गर्ने तयारी पनि गरिएको स्रोतको दाबी छ। कर्मचारी व्यवस्थापन तथा दरबन्दी मिलानका क्रममा प्रदेशमा नबसेका तथा संघमै बढी भएका वा व्यवस्थापन आवश्यक देखिएका सहसचिवलाई आयोगबाट बाहिर पठाउन लागिएको छ ।
त्यस्तै, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा एक जना प्राविधिक सहसचिव खटाइने तयारी भएको स्रोतले जनाएको छ।
यसक्रममा कृषि तथा वन–पर्यावरण र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा अन्तर्गतका केही विभागमा समेत एक–दुई जना सहसचिवको जिम्मेवारी परिवर्तन हुन सक्ने जनाइएको छ।
पछिल्लो समय सरकारले स्थानीय तहमा स्थायी प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनलाई प्राथमिकता दिँदै संघ, प्रदेश र स्थानीय तहबीच कर्मचारी व्यवस्थापनलाई तीव्रता दिएको छ। यद्यपि कर्मचारी सरुवाका निर्णयमा योग्यता र संस्थागत आवश्यकताभन्दा बाह्य प्रभाव तथा विभिन्न शक्ति केन्द्रको सिफारिसले समेत प्रभाव पार्ने गरेको टिप्पणी प्रशासनिक वृत्तमा हुने गरेको छ।






