काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत पत्र प्राप्त संस्थाहरूलाई कामदार छनोट प्रक्रियामा कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
विभागले बिहीबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगारीका लागि कामदार छनोट गर्नुअघि कम्तीमा सात दिनको अवधि राखी राष्ट्रियस्तरको दैनिक पत्रिका र सम्बन्धित संस्थाको वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको हो।
विभागका अनुसार सूचना प्रकाशित भएपछि प्राप्त सबै निवेदन संकलन गरी सात दिनको अवधि पूरा भएपछि मात्र छनोट प्रक्रिया सुरु गर्नुपर्नेछ। छनोट गरिएका व्यक्तिको सूची कार्यालयको सूचना पाटीमा टाँस गर्नुपर्ने र त्यसको एक प्रति विभागमा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।
विभागले छनोट प्रक्रियामा सहभागी सबै आवेदकलाई समान अवसर सुनिश्चित गर्न र छनोटमा नपरेका व्यक्तिलाई कारणसहित जानकारी गराउने व्यवस्था अनिवार्य रूपमा लागू गर्न पनि निर्देशन दिएको छ।
विभागका अनुसार सात दिनको सूचना प्रकाशित गरे पनि विज्ञापन अवधिमै कोटा सकिएको भन्दै आवेदन दिन आएका व्यक्तिलाई फिर्ता पठाउने तथा छनोट प्रक्रियाबाट वञ्चित गरिएको गुनासा प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो।
यस्ता कार्य कानुनी व्यवस्था विपरीत हुने भन्दै विभागले इजाजतपत्रवालालाई सूचना अवधि पूरा भएपछि मात्रै छनोट प्रक्रिया अघि बढाउन र सम्पूर्ण प्रक्रिया पारदर्शी तथा प्रतिस्पर्धात्मक बनाउन आग्रह गरेको छ।







