काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि थप पीडा दिने कार्य गर्न नहुनेमा समेत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले सहकारपीडितको बचत रकम तत्काल फिर्ता गर्न पनि माग गरे । उनले सहकारी बचत रकम अपचलनमा संलग्न व्यक्तिको जायजेथाबाट रकम असुल गरी पीडित बचत फिर्ता गर्नुपर्ने बताए । उनले सहकारी पीडितले फेरि पनि काठमाडौँको माइतीघरमा आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन समेत सरकारलाई सचेत गराए । अध्यक्ष राई जनकपुरमा आफूहरू जाँदा श्रमदातामाथि कुटपिट तथा दुर्व्यवहार भएको दाबी गरे ।
उनले भने, ‘सरकारले सहकारपीडितको पैसा फिर्ता गर्नुपर्छ । क-कसले ठगी गरेको हो । ठगी गरेकाहरूको जायजेथाबाट असुलेर तुरुन्त फिर्ता गर्नुपर्छ । माइतीघरमा जहिले पनि पीडितहरू आएर आन्दोलन गरिराख्नु नपरोस् । यसतर्फ सरकारले ध्यान देओस् । सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको बारेमा पनि सरकारले ध्यान दिनुपर्छ । सुकुम्वासी तथा व्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको थालनी तत्काल गरियोस् । अनि, हामी अस्ति जनकपुर जाँदा हाम्रा श्रमदातामाथि कुटपिट र दुर्व्यवहारको घटना भयो । घटनामा संलग्नलाई समेत सरकारले कारबाही गर्नुपर्छ । यदि सरकारी पक्षको पनि त्यसमा संलग्नता छ भने हाम्रो पनि संलग्नता छ भनेर भनिदिनुपर्यो । होइन भने नागरिकलाई देशभित्रै निषेध गर्ने छुट छैन । यो हिन्दु सम्राट् सेना भनेको नेपाली सेनाको समानान्तर सेना हो कि कस्तो सेना हो ? यो विषयमा पनि सरकारले खोज गरोस् । सेना नाम गरेका सबैलाई निषेध गरोस् भनेर पनि भन्न चाहन्छु । होइन भने त्यस्तो अनुमति कसैलाई हुँदैन यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’
उनले खाना पकाउने एलपी ग्यासको अभाव रहेको उल्लेख गर्दै यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका छन्।






