काठमाडौँ । प्रहरीका केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले नेपाल प्रहरी सेवाग्राहीप्रति केन्द्रित रहेर नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज सञ्चारकर्मीसँग समसामयिक विषयमा छलफल गर्दै उनले प्रहरीले शान्ति सुरक्षामा गरेको महत्त्वपूर्ण प्रयासहरूले आपराधिक क्रियाकलापमा कमी आउनुका साथै विगतको भन्दा शान्ति सुरक्षा चुस्त, सुदृढ, भरपर्दो र व्यवस्थित बन्दै गएको विश्वास व्यक्त गरेका हुन् ।
अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखी समग्र प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न आगामी दिनमा विभिन्न किसिमका कल्याणकारी योजना लागू गरी अगाडि बढ्ने प्रहरी नायब महानिरीक्षक काफ्लेले प्रतिबद्धता जनाए ।
छलफलमा प्रहरी नायब महानिरीक्षक काफ्लेले गत आर्थिक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिसम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरे । उनले मानवसहित अन्य स्रोत व्यवस्थापनतर्फ प्रहरी जनशक्तिअन्तर्गत कुल दरबन्दी, कार्यरत सङ्ख्या र दर्जागत सङ्ख्याका बारेमा जानकारी दिए ।
प्रहरीको इकाईगत सङ्ख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भौतिक संरचनाहरूको सङ्ख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवं नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा उनले संख्यागत विवरण प्रस्तुत गरे । यसैगरी उक्त अवधिमा उनले नयाँ नियुक्ति/पदस्थापन, सरुवा, बढुवा, कारबाही तथा पुरस्कारको साथै प्रशिक्षणसम्बन्धी विवरण प्रस्तुत गरे ।
एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्यांक प्रस्तुतीकरण गर्नुका साथै अपराध तथ्यांक विश्लेषण, गम्भीर तथा जघन्य प्रकृतिका अपराध दर्ताको त्रिवर्षीय तुलनात्मक विवरण, प्रदेशगत कसुर दर्ता, लागुऔषध बरामद, मुद्दा दर्ता तथा पक्राउ विवरण, बरामद लागु औषधको परिमाण, मानव बेचबिखन, साइबर ब्युरोमा दर्ता भएका उजुरीका आधारमा अपराधको वर्गीकरण, घरेलु हिंसा, सम्पत्ति शुद्धीकरण, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरणसम्बन्धी तथ्यांकसमेत उनले प्रस्तुत गरे ।
प्रहरी नायब महानिरीक्षक काफ्लेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धानसम्बन्धी विवरण, अन्तरराष्ट्रिय समन्वय तथा सहायता, लागुऔषध नियन्त्रण ब्युरोलगायत निकायले सम्पादन गरेका कामको विवरणबारे जानकारी दिए ।
शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटनासम्बन्धी तथ्यांक, ट्राफिक कारबाहीसम्बन्धी विवरण, शान्ति सुरक्षाको अवस्था, समुदाय प्रहरी साझेदारीमार्फत अपराध न्यूनीकरणका प्रयास, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, सूचना प्रविधिको प्रयोग, नेपाल प्रहरी मोबाइल एपमा प्राप्त गुनासोको सम्बोधनलगायत विषयमा जानकारी दिए ।
ट्राफिक जरिवाना संगठनको प्राथमिकता नभएको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक काफ्लेले भने, “ट्राफिक नियम सबैले पालना गर्ने हो भने हामीले ट्राफिक कारबाही वा जरिवाना गर्नुपर्छ भन्ने छैन । हाम्रो लक्ष्य भनेको दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट हुने जनधनको क्षति कमी गरी सकेसम्म शून्यमा झार्ने हो ।”
दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रमलाई अझ वृद्धि गर्दै प्रहरी सक्रियतामा वृद्धि गर्दै जाने उनले प्रतिबद्धता जनाए ।
जस्तोसुकै परिस्थितिमा पनि कानुन कार्यान्वयनमा नेपाल प्रहरी सदैव दृढ रहेको बताउँदै उनले सांगठनिक हित एवं सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता, नागरिकप्रतिको जवाफदेहिताका लागि प्रहरी र सञ्चारकर्मीबीच सहकार्य र समन्वयलाई थप प्रगाढ बनाउँदै लैजाने बताए ।
छलफलमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा प्रहरी अधिकृतका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको भर्चुअल उपस्थिति थियो ।






