विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनका क्रममा एलपी ग्यासको तौलमा अनियमितता भेटिएपछि कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।
अनुगमनमा सहयोग नगरेको आरोपमा विराटनगरस्थित एक व्यापारिक फर्मलाई समेत कारबाही गरिएको छ।
प्रशासन कार्यालयका अनुसार बुढीगंगा गाउँपालिका-४ स्थित कोशी ग्यास उद्योगमा रहेका १४३ वटा भरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो। परीक्षणका क्रममा एउटा सिलिन्डरमा १३.७४५ किलोग्राम मात्र ग्यास रहेको पाइएको थियो।
बाँकी ६३ वटा सिलिन्डरको औसत तौलसमेत निर्धारित मापदण्डभन्दा कम, १४.१८५ किलोग्राम रहेको अनुगमनबाट खुलेको प्रशासनले जनाएको छ। खाली सिलिन्डरको तौल परीक्षण गर्दा पनि तोकिएकोभन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिएको उल्लेख गर्दै प्रशासनले यसबाट उपभोक्तालाई तोकिएको परिमाणभन्दा कम ग्यास उपलब्ध गराइएको निष्कर्ष निकालेको छ।
त्यसैगरी, अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनको समयमा बन्द अवस्थामा भेटिएकाले उद्योगमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
यसैबीच, विराटनगर महानगरपालिका-७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई अनुगमन टोलीको निरीक्षण तथा जाँचमा आवश्यक सहयोग नगरेको भन्दै ११ हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवनराज कोइरालाका अनुसार एलपी ग्यासको वितरण प्रणाली व्यवस्थित बनाउँदै उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइएको छ। प्रशासनले आगामी अनुगमनमा समेत उपभोक्ता हित विपरीतका गतिविधि भेटिए कानुन अनुसार कारबाही गरिने जनाएको छ।







