काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको संगठनात्मक विवादका बीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला सहभागी हुने भएका छन् ।
देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार नगर्ने अडानसहित आगामी २९ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त कार्यक्रममा कोइराला सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
देउवा पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा भएका विभिन्न छलफल तथा बैठकमा सहभागी नदेखिएका कोइराला भने राष्ट्रिय भेलामा उपस्थित भएर सम्बोधन गर्ने तयारीमा छन् । पार्टीभित्र उत्पन्न विवादका विषयमा कोइरालाले पछिल्लो समय मध्यमार्गी धारणा राख्दै आएका छन् ।
राष्ट्रिय भेलाको संयोजन पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गर्ने बताइएको छ । कार्यक्रममा काँग्रेसका पूर्वसभापति देउवाले समेत सम्बोधन गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट पुनरावलोकनको प्रक्रिया अघि बढाउने गरी निस्सा प्राप्त भएपछि देउवा पक्ष उत्साहित बनेको छ । अदालतले यसअघि भएको फैसलाको पुनरावलोकनका लागि आदेश दिएसँगै तत्कालका लागि पार्टी विभाजनतर्फ जाने सम्भावना केही कम भएको उक्त समूहको बुझाइ रहेको छ ।






