काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले मंगलबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल-अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउँदै महिला सशक्तीकरण, बालअधिकार तथा संरक्षण, अपांगता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
मन्त्री बादीले राजदूत अर्न्स्टलाई मन्त्रालयमा स्वागत गर्दै उनको नेपाल कार्यकाल सफल तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरिन् । उनले नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन् ।
मन्त्री बादीले शिक्षा, मानव विकास, सुशासन, लैंगीक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अष्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। उनले अष्ट्रेलियाको सहयोगमा सञ्चालित लघु उद्यम विकास कार्यक्रमले गरिब तथा सामाजिक रूपमा सीमान्तकृत समुदाय, विशेष गरी महिलाको सीप, उद्यमशीलता विकास र वित्तीय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिन्।
त्यसैगरी, अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रममार्फत नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउँदै मन्त्री बादीले यसबाट नीति निर्माण, कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गरिन्।
भेटमा अपांगता भएका बालबालिकाको संरक्षण, विकास तथा समावेशीकरणका विषयमा समेत छलफल भएको थियो। मन्त्री बादीले अपांगता भएका बालबालिकाका लागि आवश्यक सहायक प्रविधिको पहुँच विस्तार, अपांगतासम्बन्धी तथ्यांक तथा सूचना प्रणाली सुदृढीकरण र संस्थागत क्षमता विकासमा अष्ट्रेलियाको अनुभव तथा प्राविधिक ज्ञान उपयोगी हुने बताइन्।
त्यस्तै, सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबीचको अन्तरसम्बन्धका विषयमा चर्चा गर्दै मन्त्री बादीले महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा गर्दै आएको योगदानलाई आर्थिक रूपमा पहिचान र मूल्यांकन गर्न आवश्यक रहेको बताइन्। नेपालमा हेरचाह अर्थतन्त्रको विकास तथा महिलाको घरायसी र हेरचाहसम्बन्धी कार्यको आर्थिक गणनालगायतका विषय समेटेर राष्ट्रिय अर्थतन्त्र प्रवर्द्धनसम्बन्धी नीति तर्जुमा भइरहेको जानकारी दिँदै उनले यस क्षेत्रमा अष्ट्रेलियाको नीतिगत अनुभव, अभ्यास तथा प्राविधिक ज्ञान उपयोगी हुने धारणा राखिन्।
मन्त्री बादीले आगामी दिनमा नेपाल-अष्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव हस्तान्तरण, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको पारस्परिक साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।
भेटका क्रममा राजदूत अर्न्स्टले नेपाल-अष्ट्रेलियाबीचको विद्यमान सहकार्यको महत्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गरे।
मन्त्री बादीले राजदूत अर्न्स्टलाई नेपालमा पुनः स्वागत गर्दै उनको कार्यकाल सफल तथा नेपाल बसाइ सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।






