काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए।
यसअघि अदालतमा उनको बकपत्रसमेत गराइएको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा सुनुवाइ अघि बढ्ने क्रममा अदालतले तत्कालका लागि धरौटीमा रिहा हुने व्यवस्था गरेको हो।
गोल्छाले यसअघि पनि एक करोड रुपैयाँ धरौटी बुझाएका थिए। गत १२ साउनमा काठमाडौँ जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ तथा धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।









