काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल इन्जिनियर संघका पूर्वअध्यक्ष ध्रुव थापाले सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा फिर्ता लिएर संवादमार्फत पार्टीभित्रको समस्याको समाधान गर्न संस्थापन इतर पक्षका नेताहरूलाई आग्रह गरेका छन् ।
मंगलवार काठमाडौँमा देश र काँग्रेस जोड्ने अभियानले आयोजना गरेको पार्टी एकताका लागि बुद्धिजीवीसँग गरेको छलफलमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले लामो राजनीतिक अनुभव भएका नेताहरूबाटै पार्टी विभाजनको अवस्था सिर्जना हुनु दु:खद् भएको बताए ।
पार्टीभित्र देखिएको समस्या समाधानको लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष दुवैले केही न केही कुरामा सम्झौता गर्नुपर्नेमा उनको जोड छ । उनले संस्थापन पक्षले क्रियाशील सदस्यता अद्यावधिक गर्ने र ६०-४० को भागबण्डाबाहेकबम विषयमा लचिलो बन्न तयार रहेको र संस्थापन इतर पक्षका नेताहरूले समेत सम्मानजनक स्थान खोजेको कुरामा कुन तत्वले मिल्न दिएन ? भन्दै प्रश्न गरे । उनले क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषय प्राविधिक भएको बताउँदै पुराना सदस्यता खारेज गर्ने नभई सदस्यहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्न खोजिएको तर्क गरे । उनले पार्टी एकताबद्ध हुनको लागि पार्टी नेतृत्वमा भागबण्डको विषय वाधक बनेको उनको भनाइ छ ।
उनले पार्टी कार्यकर्ताहरूले नै पार्टी एकताबद्ध बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।






