काठमाडौँ । बाजुराको बडीमालिका क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत पुर्याइएको छ। भौगोलिक विकटताका कारण स्थलमार्गबाट ढुवानी कठिन भएपछि नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उपकरण जडानस्थलसम्म पुर्याएको हो।
समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र हो। त्यहाँ तत्काल टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध गराउन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गत साउन ८ गते नेपाल टेलिकमलाई निर्देशन दिएका थिए।
निर्देशनपछि मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग दूरसञ्चार पूर्वाधार स्थापनाका लागि आवश्यक स्थान, सम्भावित साइट र सडक पहुँचको अवस्थाबारे समेत छलफल गरेका थिए। सडकमार्गबाट उपकरण पुर्याउन कठिन देखिएपछि हवाई ढुवानीको विकल्प अघि बढाइएको हो।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण लैजाने काममा केही ढिलाइ भएको थियो। उपकरण तथा अन्य सामग्रीको व्यवस्थापन, आवश्यक जनशक्ति परिचालन र स्थानीय तहबाट उपलब्ध गराउन सकिने आर्थिक तथा अन्य सहयोगका विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकासँग समन्वय भइरहेको छ।
टेलिकमका अनुसार जडानस्थलमा आवश्यक सामग्री पुगेपछि करिब पाँच दिनभित्र सेवा सञ्चालन गर्न सकिनेछ। यसअघि साउनभित्रै सेवा सुरु गर्ने लक्ष्य राखिएकोमा साउन ३० गतेसम्म काम सक्ने प्रारम्भिक योजना थियो। तर मौसम र दुर्गम भौगोलिक अवस्थाका कारण निर्धारित समयभन्दा केही ढिलो हुने देखिएको छ।
सरकारले दुर्गम तथा पर्यटकीय गन्तव्यमा सञ्चार पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै बडीमालिका मन्दिर क्षेत्रमा तत्काल फोर–जी सेवा उपलब्ध गराउने योजना अघि सारेको हो। सोही क्रममा सगरमाथा आधार शिविरमा समेत फोर–जी विस्तारको सम्भावनाबारे अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा यसअघि पनि सेवा विस्तार भइसकेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-६ स्थित लहान तथा ठूलीभेरी नगरपालिका-१, दुनैमा करिब ३ हजार ९०० मिटर उचाइमा फोर-जी सेवा सञ्चालनमा छ। त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब ३ हजार ४०० मिटर उचाइमा मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार गरिएको छ।
सरकारले सञ्चार पहुँच कमजोर रहेका अन्य दुर्गम भूभागमा समेत दूरसञ्चार पूर्वाधार विस्तार गर्ने नीति अघि बढाएको छ। डिजिटल पहुँचमा रहेको असमानता कम गर्दै नागरिकलाई गुणस्तरीय टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ संरचना निर्माण र विद्यमान सेवाको क्षमता विस्तारलाई प्राथमिकता दिइएको हो।
देशभर मोबाइल सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १ हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार र सेवाको गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै रु. ६ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।






