काठमाडौँ । नेपाल आयल निगमले आगामी दसैँ-तिहारका समयमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मौज्दात चाडपर्वको माग धान्न पर्याप्त रहेको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले हाल औसत १३ देखि १४ दिनको इन्धन भण्डारण कायम रहेको जानकारी दिए। उनका अनुसार निगमसँग १ करोड ५० लाख लिटर पेट्रोल, ४ करोड ६० लाख लिटर डिजेल, १७ लाख लिटर मट्टितेल र ७० लाख लिटर हवाई इन्धन मौज्दात छ।
पेट्रोलको दैनिक खपत करिब २० लाख लिटर रहेको उल्लेख गर्दै साहले दसैँ-तिहारमा माग केही बढे पनि उपलब्ध मौज्दातबाट आपूर्ति व्यवस्थापन गर्न सकिने बताए।
निगमका अनुसार अहिले सबैभन्दा बढी दबाब खाना पकाउने एलपीजी ग्यासको आपूर्ति व्यवस्थापनमा देखिएको छ। नेपालमा विभिन्न ५८ वटा ब्रान्डका सिलिन्डर कारोबारमा रहेकाले आपूर्ति प्रणाली व्यवस्थापनमा जटिलता उत्पन्न भएको साहले बताए।
उनका अनुसार भारतमा सीमित ब्रान्डबाट एलपीजी कारोबार हुने गरेको भए पनि नेपालमा धेरै ब्रान्ड र फरक–फरक सिलिन्डरको प्रयोगले दीर्घकालीन रूपमा आपूर्ति व्यवस्थापन कठिन बनाएको छ। यसलाई समाधान गर्न ब्रान्ड मर्जरको विकल्पमा निगमले अध्ययन तथा योजना अघि बढाएको उनले बताए।
नेपालले भारतका विभिन्न रिफाइनरी तथा डिपोबाट एलपीजी आयात गर्नुपर्ने र ढुवानी दूरी लामो रहेकाले आपूर्ति व्यवस्थापनमा समय र लागत दुवै बढ्ने निगमको भनाइ छ। भारतबाट करिब १ हजार २२५ सिलिन्डर बोकेको एउटा बुलेट नेपाल आइपुग्न करिब १० दिन लाग्ने साहले बताए।
आवश्यकता बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर निगमले अग्रिम रूपमा ठूलो परिमाणमा ग्यास ल्याउने प्रयास गर्दै आएको जनाएको छ। तर अग्रिम आयातका क्रममा खाली सिलिन्डरको मौज्दात बढेका कारण पछिल्लो समय माग एकै पटक बढ्दा व्यवस्थापनमा दबाब परेको साहको भनाइ छ।
निगमले चालु महिनाको अनुमानित आवश्यकताभन्दा बढी एलपीजी बजारमा पठाइएको जनाएको छ। साहका अनुसार करिब ३३ लाख सिलिन्डर आवश्यक पर्ने अनुमान भए पनि ३४ लाख सिलिन्डर बजारमा पठाइसकिएको छ।
उनले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमै अवरोध नआएसम्म आवश्यकताअनुसार थप ग्यास आयात गर्न सकिने बताए। यद्यपि लामो दूरीको ढुवानी लागत र त्यसको भार उपभोक्तामाथि पर्ने अवस्थालाई ध्यानमा राखेर दीर्घकालीन आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए।
एलपीजी अभावसम्बन्धी गुनासो बढेपछि निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा वैकल्पिक तथा स्ट्यान्डबाइ वितरणको व्यवस्था गरेको जनाएको छ। टेकु, कालीमाटी र जडीबुटीलगायतका स्थानबाट आवश्यकताअनुसार ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको साहले जानकारी दिए।
वृद्ध, असहाय तथा सुत्केरी उपभोक्तालाई ग्यास लिन कठिनाइ भएमा घरमै पुर्याउने व्यवस्था समेत गरिएको उनले बताए। स्थानीय प्रशासनसँग समन्वय गरेर वितरण प्रणाली सञ्चालन भइरहेको निगमको भनाइ छ।
चाडपर्वका समयमा इन्धनको अभाव हुने भन्दै उपभोक्तामा अनावश्यक त्रास सिर्जना नगर्न आग्रह गर्दै साहले नियमित आपूर्ति कायम राख्न निगमले आवश्यक तयारी गरिरहेको बताए।






