काठमाडौँ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २५ वटा सरकारी कार्यालयमा गरेको छड्के निरीक्षणका क्रममा सात कार्यालय प्रमुखसहित ५८ कर्मचारी अनुपस्थित रहेको पाइएको छ।
प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको निर्देशनमा शुक्रबार बिहान ९:१५ बजे कर्मचारीको नियमित उपस्थिति तथा समय पालनको अवस्था जाँच गर्न हाजिरी निरीक्षण गरिएको प्रशासनिक अधिकृत तथा सूचना अधिकारी चन्द्रबहादुर रोकायाले जानकारी दिए ।
रोकायाका अनुसार निरीक्षणका क्रममा अनुपस्थित भेटिएका कर्मचारीलाई कार्यालयमा उपस्थित हुन नसक्नुको कारणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। सम्बन्धित कार्यालयलाई पनि अनुपस्थित कर्मचारीको कारण खुलाएर शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा विवरण पठाउन भनिएको प्रशासकीय अधिकृत रोकायाले जानकारी दिए।
जिल्लामा करिब ४५ वटा सरकारी कार्यालय रहेकोमा पहिलो चरणमा २५ कार्यालयको हाजिरी निरीक्षण गरिएको प्रशासनले जनाएको छ।
सरकारी कर्मचारीको नियमित उपस्थिति, समय पालन र सेवा प्रवाह प्रभावकारी बनाउन आगामी दिनमा पनि छड्के निरीक्षणलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
डडेल्धुराका २५ सरकारी कार्यालयमा बिहान ९:१५ बजे गरिएको छड्के निरीक्षणमा सात कार्यालय प्रमुखसहित ५८ कर्मचारी अनुपस्थित भेटिएपछि कारण खुलाउन र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।






