काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम चरम ऋणभार, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रमा देखिएको बेथितिका कारण गम्भीर संकटमा परेको बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को ५९औँ अधिवेशनमा शुक्रबार सम्बोधन गर्दै मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको वर्तमान अवस्था सुधार गर्न सामान्य व्यवस्थापकीय परिवर्तनले मात्र नपुग्ने बताएका हुन्।
उनले निगमलाई राजनीतिक प्रभाव र प्रशासनिक असक्षमताबाट मुक्त गर्दै संस्थागत रूपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याए। निगमको वित्तीय अवस्था कमजोर बन्दै गएको र व्यवस्थापनमा देखिएका समस्याले यसको दीर्घकालीन सञ्चालन क्षमतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
मन्त्री पौडेलले निगमको पुनर्संरचनाका लागि सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडललाई विकल्पका रूपमा अघि बढाउने विषयमा आफू अध्ययनरत रहेको जानकारी दिए। निगमलाई संकटबाट बाहिर निकाल्न संरचनागत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले यस विषयमा सरोकारवालाबीच गम्भीर बहस हुनुपर्ने बताए।
उनका अनुसार राष्ट्रिय ध्वजावाहक कमजोर रहँदा नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय विस्तारमा समेत असर पर्न सक्छ। पर्यटन क्षेत्रको विकासका लागि हवाई पहुँच विस्तार र प्रतिस्पर्धी राष्ट्रिय वायुसेवा आवश्यक भएकाले निगमको सुधारलाई पर्यटन नीतिसँगै अघि बढाउनुपर्ने उनले बताए।
निगमप्रति आम नागरिकको भावनात्मक सम्बन्ध रहे पनि राजनीतिक हस्तक्षेप, कर्मचारीतान्त्रिक बेथिति र बढ्दो ऋणभारलाई निरन्तरता दिएर संस्था अघि बढ्न नसक्ने मन्त्री पौडेलको धारणा छ।
उनले निगमको सुधारका लागि आवश्यक संरचनागत निर्णयमा सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाको सहयोग आवश्यक रहेको बताए। साथै, राष्ट्रिय ध्वजावाहकको भविष्य र पुनर्संरचनाको मोडलबारे सार्वजनिक तहमा तथ्यपरक बहस अघि बढाउनसमेत उनले आग्रह गरे।
मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकलाई प्रभावकारी नबनाई नेपालको पर्यटनलाई अपेक्षित गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य पूरा गर्न कठिन हुने उल्लेख गर्दै निगम सुधारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।






