काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी आधारभूत वर्ग र समुदायबाट टाढिँदै गएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेले पार्टी सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमतबाहेक वर्ग र समुदायको जनमत पाउन नसकेको बताए ।
उनले वामपन्थी शक्तिहरू मुलुकको पूर्वाधार विकासमा बढी केन्द्रित हुँदा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे । उनले नेपालको श्रम शक्तिको ठूलो हिस्सा कृषिमा निर्भर रहे पनि कृषिमा संलग्न परिवारका शिक्षित युवा कृषि पेसामा फर्कन नचाहँदा शैक्षिक बेरोजगारी बढेको पनि बताए ।
कृषिमार्फत रोजगारी सिर्जना गर्ने कार्यमा शिक्षित युवाको पर्याप्त संलग्नता हुन नसक्दा उनीहरूको असन्तुष्टि वैदेशिक पलायन र राज्यविरुद्धको आक्रोशमा परिणत भएको महासचिव पोखरेलको भनाइ छ । उनले मुलुकको वर्तमान संकटको एउटा प्रमुख कारण शिक्षित पुस्तामा बढेको बेरोजगारी र त्यसबाट उत्पन्न असन्तुष्टि रहेको बताए । पार्टीको समग्रतामा पुनर्गठन आजको आवश्यकता भएको पनि बताए । उनले वामपन्थी कार्यकर्तामा उत्पन्न भएको निराशालाई उत्साह र गतिशीलतामा बदल्न जरुरी रहेको बताए ।
उनले भने, ‘पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिस्ट जनमत होला । पार्टी सदस्य र उसको निकटको सदस्य आधारित जनमत बाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ । त्यस अर्थ अहिले हामीले आधारभूत वर्ग र समुदायबाट पनि टुटेको अवस्थामा छौँ । आधारभूत वर्ग र समुदायबाट हामी किन टुट्यौँ रु भन्ने कुराको सन्दर्भमा कुरा गर्दा खेरी मेरो बुझाई के कुरामा छ त भन्दा खेरी हामी पूर्वाधार विकासमा बढी केन्द्रित भयौँ । सामाजिक विकास र सामाजिक न्यायका मुद्दामा खास गरी शिक्षा र स्वास्थ्य र रोजगारीको प्रत्याभूतिको सम्बन्धमा हामी प्रभावकारी हुन सकेनौँ । मुलुकको अहिलेको संकटको कारण के हो त रु भन्दा खेरी पढेलेखेको पुस्ता, नेपालको श्रम शक्तिको सबभन्दा ठूलो हिस्सा कृषिमा संलग्न थियो । कृषिमा झन्डै ७० प्रतिशतको निर्भरता थियो । र कृषिलाई पेसा मान्ने समुदायभित्रको लेखपढ गरेको पुस्ताले कृषिमा फर्कन मानेन । त्यो के भयो त भन्दा खेरी शैक्षिक बेरोजगारको रूपमा समाजमा उपस्थित भयो । जसले रोजगारी दिन सक्दछ वा काम दिन सक्दछ त्यसमा उनीहरूको संलग्नता भएन । र उसले आफूलाई शैक्षिक बेरोजगार बस्दाको असन्तुष्टि र विद्रोह वैदेशिक पलायन र राज्यविरुद्धको घृणामा बदलियो ।’
उनले वामपन्थी दलहरूले अगामी दिनमा अघि बढ्नको लागि जनतासँगको सम्बन्ध बलियो र सुदृढ बनाउन जरुरी रहेको पनि बताए ।






