काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–४ बस्ने बर्दिया बासगढी नगरपालिका–५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौँ शंखरापुर नगरपालिका–८ बस्ने ५० वर्षीय रंजित केसी रहेका छन् ।
पक्राउ मध्ये रेश्माले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रुपैयाँ र रंजितले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाउको छ । सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रेश्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बाट आइतबार र रंजितलाई काठमाडौं महानगरपालिका–(१२ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।






