काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण सुरु भएको छ ।
मंगलवार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल लगायतका नेताहरूको विशेष उपस्थितिमा वाग्मती प्रदेश कमिटीको बैठक तथा प्रशिक्षण काठमाडौँमा सुरु भएको हो ।
प्रशिक्षण अगाडी पार्टी संयोजक दाहालले बागमती प्रदेश कमिटिका सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा दुवै पक्षबाट समायोजन गरी प्रदेश कमिटी बनाइएको हो । एकतापछि बनेको कमिटिका सदस्यहरूलाई पार्टी संयोजक दाहालले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहणका क्रममा उनले सबै प्रदेशमा पार्टीले एकता बैठक तथा प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए । उनका अनुसार सातै प्रदेशका प्रदेश कमिटी सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम सकिएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको सभा हलमा जारी प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
बैठक तथा प्रशिक्षणमा पार्टीको संगठनात्मक एकता, आगामी राजनीतिक कार्यदिशा तथा प्रदेशस्तरीय गतिविधिबारे छलफल हुने जनाइएको छ । प्रदेश कमिटीमा एकताको कार्यक्रम सकिए पनि अन्य विभिन्न कमिटीमा एकताको काम बाँकी रहेको जनाइएको छ ।






