काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ओसारपसार भइरहेको आशंकामा ६२ लाख ५० हजार ५०० रुपैयाँ बराबरका सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले कावासोती नगरपालिका-८ स्थित फलफूल चोकमा सवारीसाधन जाँच गर्ने क्रममा पश्चिमबाट पूर्व नारायणगढतर्फ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रक रोकेको थियो।
जाँचका क्रममा बिल तथा बिजक नभएका विभिन्न सामग्री ट्रकभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा विभिन्न रङका कुर्ता-सुरुवाल, साडी तथा काँचो कपडा रहेका छन्।
प्रहरीका अनुसार ट्रकबाट १ हजार ९६० थान विभिन्न रङका कुर्ता-सुरुवाल, १ हजार ५०० थान साडी, २२५ थान काँचो कपडा तथा थप ३१५ थान काँचो कपडा बरामद गरिएको छ। बरामद सामग्रीको मूल्य ६२ लाख ५० हजार ५०० रुपैयाँ कायम गरिएको छ।
प्रहरीले नियन्त्रणमा लिएको सामान, ट्रक र ट्रक चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि श्री महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाएको जनाएको छ।
भन्सारसम्बन्धी कागजातबिना सामान ओसारपसार भएको सूचनाका आधारमा गरिएको नियमित जाँचका क्रममा सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया सम्बन्धित भन्सार कार्यालयबाट अघि बढ्ने भएको छ।






