काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलवार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्न पुगेकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले पीडितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताए ।
पीडितहरूका समस्या समाधानका लागि विगतको अन्तरिम सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिइन्।
धर्नास्थलमा पीडितहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘धेरै आमा, दिदीबहिनी र नानीहरू केही दिनदेखि आन्दोलनमा हुनुहुन्छ भन्ने जानकारी पाएपछि उहाँहरूको स्वास्थ्य अवस्था बुझ्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन म यहाँ आएकी हुँ । यस समस्यालाई जरैदेखि समाधान गरेर दिदीबहिनीहरूको स्वास्थ्यमा प्रतिकूलता नआओस् र उहाँहरूले फेरि दुःख भोग्न नपरोस् भन्ने मेरो चाहना छ ।’
भण्डारीले सामाजिक न्यायका लागि भइरहेको यस आन्दोलनप्रति ऐक्यबद्धता समेत प्रकट गरिन्। भेटका क्रममा आन्दोलनरत पीडितहरूले आफ्ना समस्या र पीडा सुनाएका थिए । पीडितहरूका तर्फबाट बोल्दै एक सहभागीले आफूहरू विगत चार दिनदेखि धर्नामा रहेको र कतिपय पीडितहरू सुनसरीको इनरुवादेखि १९ दिनको पैदल यात्रा गरेर काठमाडौँ आएको जानकारी गराए ।
उनीहरूले तत्कालका लागि घुम्ती शौचालय र सुरक्षित वासस्थानको व्यवस्था गरिदिन पूर्वराष्ट्रपतिसँग आग्रह गरिन्। विगत केही समयदेखि लघुवित्त र मिटरब्याजका कारण समस्यामा परेका सर्वसाधारणहरू न्यायको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।






