काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद न्यौपानेले आयोगको वार्षिक प्रतिवेदन, अनुसन्धानको सुस्तता र ठूला भ्रष्टाचार प्रकरणमा देखिएको ‘चयनमुखी’ अभियोजनका विषयमा आयोगको ध्यानाकर्षण गराएका हुन्।
सांसद न्यौपानेले आयोगको ३५ औँ वार्षिक प्रतिवेदनमा पुराना मुद्दाहरूको अनुसन्धान अवधि स्पष्ट नखुलाइएको भन्दै आपत्ति जनाए । उनले १५ देखि २० वर्ष पुराना मुद्दाहरू कहिलेसम्म टुंगिने भन्ने स्पष्ट कार्ययोजना नभएको उल्लेख गरे । सांसद न्यौपानेले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले गरेको फैसलाको सन्दर्भ जोड्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाए ।
विशेष अदालतको फैसलामा उल्लेखित ‘चयनमुखी अभियोजन’ को अंश उद्धृत गर्दै उनले एउटै प्रक्रियामा संलग्नमध्ये कसैलाई मुद्दा चलाउने र मुख्य व्यक्तिलाई जोगाउने कार्यले प्राकृतिक न्यायको सिद्धान्त र समानताको हकको उल्लंघन गरेको बताए । उनले विमान खरिद प्रक्रियाको निर्णय गर्दा सञ्चालक समितिको अध्यक्ष रहेका तत्कालीन सचिव एवं वर्तमान प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवादी नबनाइनुले आयोगको विश्वसनीयतामा आघात पुगेको तर्क गरे ।
उनले भने, ‘इटहरीस्थित अख्तियारको कार्यालयमा १३ वर्षदेखि एउटै फाइल अनुसन्धान भइरहेको पाइयो । अनुसन्धानको नाममा दशकौँसम्म फाइल अल्झाएर राख्ने कार्यविधिले सुशासनलाई गिज्याइरहेको छ । यति धेरै गम्भीर प्रश्नहरू उठिसकेपछि त्यही पदमा बसिरहन नैतिकताले दिन्छ कि दिँदैन ?’
संविधानको धारा २३८ (४) (ङ) लाई स्मरण गराउँदै न्यौपानेले संवैधानिक निकायको प्रमुखमा नियुक्ति हुँदा मात्र नभई पदमा बहाल रहँदा पनि ‘उच्च नैतिक चरित्र’ अनिवार्य हुनुपर्ने उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त सानु भण्डारीले अदालतमा दिएको बयानमा प्रेमकुमार राईको नाम उल्लेख भएको र नेपाल आयल निगमको जग्गा प्रकरणमा समेत उनी जोडिएको प्रसंग उठाउँदै न्यौपानेले प्रश्न गरे ।
सांसद न्यौपानेले अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर मुद्दा चलाउन दबाब दिइएको भनी सञ्चारमाध्यममा आएका समाचारहरूबारे समेत स्पष्टीकरण माग गरे । उनले क्यान्टोन्मेन्ट घोटाला, भूकम्पको समयमा भएको त्रिपाल खरिद प्रकरण र नाकाबन्दीका बेलाको स्यानिटाइजर खरिद जस्ता पुराना मुद्दाहरूको अनुसन्धान अझै टुंगो नलाग्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरे ।






