काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सहजता दिलाउन चार स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । ती संस्थासँग नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश पोखरेलले प्रतिनिधिमूलक रूपमा सम्झौता गरेका हुन् ।
सम्झौताअनुसार अपांग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र, रेयुकाई एईको मासुनागा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रले बनेपाली नागरिकलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् । बनेपा नपा–११ स्थित अपांग बाल अस्पताल तथा पुन:स्थापना केन्द्रमा नगरभित्रका १८ वर्षमुनिका अपांगता भएका बालबालिकाको उपचारका लागि नगरले आवश्यक समन्वय गर्नेछ ।
यस्तै, बनेपामै अवस्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाबाट स्थानीय ‘स्थायी–नागरिक’ लाई उपचारका क्रममा आवश्यक पर्ने रगत उपलब्ध गराउने तथा काभ्रे रक्तसञ्चार सेवामा रगत सङ्कलनकार्यमा सहयोग गरिने सम्झौतामा जनाइएको छ । यसैगरी, बनेपा–६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा चालु आर्थिक वर्ष २०८३–८४ का लागि मोतियाविन्दुको शल्यक्रिया, विद्यार्थीको दृष्टि परीक्षण तथा चश्मा वितरणमा सहुलियत दिने उल्लेख गरिएको छ । स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई आँखासम्बन्धी अभिमुखीकरण गराउनेसमेत व्यवस्था गरिएको छ ।
त्यस्तै, स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रमा उपचारका क्रममा बिरामीले बिमाबाट प्राप्त गर्ने रकम, विपन्न नागरिकका रूपमा पाउने सुविधा तथा अन्य छुट वा सहुलियत कट्टा गरी बाँकी उपचार खर्चमध्ये आवश्यक कागजातका आधारमा प्रतिव्यक्ति करसहित बढीमा रु एक लाखसम्म नगर कार्यालयले व्यहोर्ने सम्झौतामा जनाइएको छ ।
यसैबीच बनेपास्थित शिर मेमोरियल अस्पतालसँग पनि मातृशिशु स्वास्थ्य तथा क्यान्सरलगायतका उपचार सेवाका लागि सम्झौता गरी नगरवासीलाई थप सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको नगरप्रमुख शाक्यले बताए । उनका अनुसार नगरका बासिन्दालाई स्थानीय स्वास्थ्य संस्थासँग उपलब्ध नयाँ तथा आवश्यक स्वास्थ्य–सेवा सहज रूपमा उपलब्ध गराउन नगर तल्लीन रहेको छ ।






