काठमाडौँ । दैलेखको महाबु गाउँपालिकाका आठ वटा माध्यमिक विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक दुई जना मात्रै रहेको पाइएको छ। दुवै शिक्षक पुरुष हुन्। सम्बन्धित तहका स्थायी शिक्षकको अभावका कारण विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गर्न समस्या देखिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले माध्यमिक तहसँगै आधारभूत तहमा समेत स्थायी शिक्षकको अवस्था उस्तै रहेको बताए ।
“महाबु गाउँपालिकामा आठ वटा माध्यमिक विद्यालय छन्, तर माध्यमिक तहमा स्थायी शिक्षक दुई जना मात्रै हुनुहुन्छ,” उपाध्यायले भने, “आधारभूत तहको अवस्था पनि उस्तै छ। यस्तो अवस्थामा शिक्षा नियमावलीमा भनिएअनुसार स्थायी शिक्षकबाट प्रधानाध्यापक व्यवस्थापन कसरी गर्ने भन्ने समस्या छ।”
उनका अनुसार जिल्लाभित्र सम्बन्धित तहमा कार्यरत शिक्षकबाट समेत प्रधानाध्यापकका लागि आवेदन लिन सकिने व्यवस्था छ। तर घरपायक विद्यालयमा कार्यरत शिक्षक प्रधानाध्यापक बन्नकै लागि अर्को स्थानीय तहमा आवेदन दिन इच्छुक हुने सम्भावना कम देखिएको उनले बताए ।
स्थायी शिक्षकको सीमित उपलब्धता र अन्य स्थानीय तहबाट आवेदन आउने सम्भावना न्यून हुँदा प्रधानाध्यापक छनोट तथा व्यवस्थापनमा व्यावहारिक कठिनाइ देखिएको हो। उपाध्यायका अनुसार अहिले धेरै स्थानीय तहले यस्तै समस्या सामना गरिरहेका छन्।






