काठमाडौँ । सरकारले २३औँ निजामती सेवा दिवस उल्लासमय रूपमा मनाउने व्यवस्था मिलाउन संघीय मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायहरूलाई निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै दिवसका अवसरमा आयोजना हुने निर्धारित कार्यक्रममा निजामती कर्मचारीको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको हो।
मुख्यसचिवको अध्यक्षतामा भदौ ५ गते बसेको निजामती सेवा दिवस समारोह समितिको बैठकले गरेको निर्णयअनुसार मन्त्रालयले सम्बन्धित निकायहरूलाई आवश्यक व्यवस्था मिलाउन भनेको छ।
परिपत्रमा सिंहदरबारभित्र कार्यरत सम्पूर्ण निजामती कर्मचारीलाई निजामती पोसाकमा निर्धारित कार्यक्रममा अनिवार्य उपस्थित हुने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
नेपालमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइँदै आएको छ। यस वर्ष सरकारले २३औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ।






