काठमाडौँ । रसुवामा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको नेपाली सेनाले आज बिहानदेखि साढे १० बजेसम्म २० विदेशी नागरिकसहित १२५ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाले भदौ ११ गते बिहान १०ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार टिमुरे तथा मैलुङ क्षेत्रमा फसेका प्रभावितहरूको हवाई उद्धार गरिएको हो।
सेनाले त्रिशूलीमा विशेषज्ञ चिकित्सक अधिकृतसहित आपत्कालीन उपचार केन्द्रसमेत सञ्चालन गरेको छ। उक्त केन्द्रबाट हालसम्म ६४ जना घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा घाइते तथा जोखिममा परेका व्यक्तिको स्थल र हवाई माध्यमबाट उद्धार जारी छ। सम्बन्धित निकायसँगको समन्वयमा आपत्कालीन उपचार तथा राहत सामग्री वितरणको कामसमेत भइरहेको नेपाली सेनाले जनाएको छ।







