काठमाडौँ । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ।
उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी छन्। प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले उनीहरूलाई केन्द्रबाट सुरक्षित बाहिर निकालेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
बाढीबाट प्रभावित अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ। टनेलभित्र फसेकाहरूको उद्धार प्रभावकारी बनाउन आवश्यक सामग्रीसहितको टोलीसमेत आयोजनास्थलतर्फ पठाइएको सचिवालयले जनाएको छ।
त्यस्तै, त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको छ।
प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको जनाइएको छ।






