काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाले बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा उद्धार, राहत र पुन:स्थापनाका कामलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित विपद् व्यवस्थापनसम्बन्धी छलफलमा लामाले भदौ १० गते चीनसँग जोडिएको सीमावर्ती क्षेत्रबाट सुरु भएको बाढीले व्यापक जनधनको क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित नागरिकसम्म तत्काल आवश्यक सहायता पुर्याउनुपर्ने बताए।
गोसाईंकुण्ड मेला तथा जनैपूर्णिमाको समयमा आएको विपद्का कारण तीर्थयात्री र स्थानीय बासिन्दा समेत प्रभावित भएको उनको भनाइ थियो। उनले त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङमा ४१ जना श्रमिक अझै फसेको जानकारी दिँदै उनीहरूको उद्धार भइसकेको भन्ने सामाजिक सञ्जालमा प्रसारित विवरण सत्य नभएको स्पष्ट पारे।
लामाका अनुसार सुरुवाती चरणमा सुरुङभित्र रहेका श्रमिकसँग सम्पर्क भए पनि अहिले मोबाइल सम्पर्क हुन सकेको छैन। नेपाली सेनाबाट उद्धार प्रयास भइरहेको भए पनि दक्ष प्राविधिक जनशक्ति र आवश्यक उद्धार उपकरणसहितको थप टोली तत्काल परिचालन गर्नुपर्ने उनले बताए।
उनले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट तोकेर काम अघि बढाउनुपर्नेमा जोड दिए। राहत वितरणमा दोहोरोपन तथा अन्योल हटाउन एकीकृत प्रणाली अपनाउनुपर्ने र सडक पहुँच नपुगेका दुर्गम बस्तीमा हेलिकप्टरबाट अत्यावश्यक सामग्री पुर्याउनुपर्ने उनको सुझाव छ।
बाढीका कारण नुवाकोट र रसुवाबीचको यातायात सम्पर्कमा प्रयोग हुने पुलहरू क्षतिग्रस्त भएपछि आवतजावत प्रभावित भएको भन्दै लामाले अस्थायी रूपमा बेलीब्रिज निर्माणलाई प्राथमिकता दिन आग्रह गरे। उनका अनुसार देवीघाटमा ५५ र ६० मिटरका दुई पुल, बेत्रावतीमा ७० मिटर तथा नयाँ पुल क्षेत्रमा ५५ मिटर लामो बेलीब्रिज आवश्यक देखिएको छ।
यातायात अवरुद्ध हुँदा प्रभावित गाउँहरूमा खाद्यान्न, खाना पकाउने ग्यास र औषधिको आपूर्ति प्रभावित भएको उनले बताए। विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा समेत प्रभावित भएकाले नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युत् सेवा पुन:स्थापनाको कामलाई पनि तीव्र बनाउनुपर्ने उनको भनाइ छ।
लामाले विपद्को प्रतिकार्यमा संघ, प्रदेश र स्थानीय सरकारबीच अपेक्षित स्तरको समन्वय हुन नसकेको भन्दै तत्काल संयुक्त कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए।
बाढीका कारण पशुचौपायामा समेत ठुलो क्षति भएको उल्लेख गर्दै उनले मृत पशु व्यवस्थापनमा ढिलाइ हुँदा दुर्गन्ध फैलिनुका साथै स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाइ तथा स्वास्थ्य सुरक्षाका उपायलाई पनि उद्धार र राहतसँगै अघि बढाउनुपर्ने बताए।






