काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ ।
रास्वापाको पार्टी कार्यालय वनस्थलीमा आज भएको उक्त भेटवार्तामा उनीहरुबीच भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका काम कारबाही सम्बन्धमा छलफल भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
सो अवसरमा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिएका थिए । उनले यति बेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा आफूहरू सचेत रहेको उल्लेख गरे।
सभापति लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी मुख्यमन्त्री थापाले विपद्को उद्धार र राहतमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गर्दै प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको बताए । उनले प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएकामा दुःख व्यक्त गर्दै तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेकामा जोड दिए ।
प्रभावित क्षेत्रमा उचित राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको मुख्यमन्त्री थापाको भनाइ थियो । साथै उनले परिवर्तनको असर लामो भएकाले खोला किनारका बस्तीहरू स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढंगबाट काम गर्नुपर्ने बताएका छन् ।






