काठमाडौँ। रसुवामा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको वास्तविक संख्या निर्धारण गर्न कठिन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। विभिन्न निकायबाट विवरण संकलन भइरहेकाले प्राप्त तथ्यांकमा फेरबदल हुन सक्ने प्राधिकरणको भनाइ छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सोमबार बिहान ९ बजेसम्म सम्बन्धित आधिकारिक निकायबाट संकलित विवरणमा ४ हजार २०२ जना बेपत्ता देखिएका छन्। तर यो संख्या अन्तिम नभएको उनले स्पष्ट पारेकी छन्।
स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनाबाट प्राप्त विवरणलाई एकीकृत गर्ने काम भइरहेको महतले जानकारी दिइन्। खोज तथा उद्धार जारी रहेकाले सम्पर्कविहीनको संख्या थपिन वा घट्न सक्ने अवस्था रहेको उनले बताइन्।
यसबीच, बाढी प्रभावित जलविद्युत् आयोजना तथा सुरुङ क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। प्राधिकरणका अनुसार हाइड्रो आयोजनाका सुरुङबाट मात्रै हालसम्म २८९ जनालाई उद्धार गरिएको छ। आइतबार चिनियाँ १५ र भारतीय ७ गरी २२ जनालाई थप उद्धार गरिएको थियो भने सोमबार पनि खोज तथा उद्धार जारी रहेको जनाइएको छ।
लाङटाङ हाइड्रोमा भएको क्षतिको छुट्टै विवरण भने अहिलेसम्म प्राप्त नभएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा व्यक्तिको खोजी जारी रहेकाले बेपत्ताको वास्तविक संख्या तत्कालै निर्धारण गर्न कठिन रहेको महतको भनाइ छ।
प्राधिकरणका अनुसार रसुवा बाढीमा हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ। १० हजारभन्दा बढी व्यक्तिको उद्धार भइसकेको छ भने घाइतेमध्ये २६७ जना उपचारपछि घर फर्किएका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ।
विपद्का कारण प्रभावित सडक तथा सञ्चार सेवामध्ये अधिकांश सञ्चालनमा आइसकेका छन्। सडक अवरोध भएका स्थानमा वैकल्पिक मार्ग पहिचान गरी आवागमन सहज बनाइएको प्राधिकरणले जनाएको छ।
विपद् प्रतिकार्यलाई विभिन्न क्षेत्रमा विभाजन गरी सञ्चालन गर्न प्राधिकरणले करिब १४ वटा कार्यदल परिचालन गरेको छ। उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयका लागि छुट्टाछुट्टै संयन्त्र बनाएर बिहीबारदेखि काम अघि बढाइएको प्रवक्ता महतले जानकारी दिइन्।






