काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको विद्युत् आपूर्ति विभिन्न क्षेत्रमा पुनः सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश स्थानमा विद्युत् सेवा पुनः सुचारु भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि विद्युत् आपूर्ति सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।
बाढीले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याएपछि प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच प्राधिकरणका प्राविधिक टोली मर्मत तथा पुन:स्थापनामा परिचालित भएका थिए।
प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रका केही स्थानमा विद्युत् सेवा फर्किएको हो। विद्युत् आपूर्ति पुन:स्थापित भएसँगै स्थानीय स्तरमा दैनिक गतिविधि सञ्चालनमा समेत सहजता आएको प्राधिकरणको भनाइ छ।
बाढीबाट अझै प्रभावित रहेका अन्य क्षेत्रमा पनि विद्युत् सेवा नियमित बनाउन प्राधिकरणले आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरेको छ। बाँकी क्षेत्रमा पनि सकेसम्म छिटो विद्युत् आपूर्ति पुन:स्थापित गर्ने गरी काम जारी रहेको प्राधिकरणले जनाएको छ।






