काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगर प्रमुख महेश खरेलले बाढीपीडितको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन उक्त रकम सम्बन्धित राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका छन्।
नगर प्रमुख खरेलका अनुसार नगरपालिकाका जनप्रतिनिधिले एक साताको तलब बराबरको रकमसमेत राहत कोषमा उपलब्ध गराउने भएका छन्।
त्यस्तै, बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका पाँचखाल नगरपालिकाका नागरिकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ।
विपदबाट प्रभावित नागरिक तथा मृतक र बेपत्ता व्यक्तिका परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त निर्णय गरेको नगर प्रमुख खरेलले बताएका छन्।






