काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावर हाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरूले यस्तो गुनासो गरेका हुन् । विपद्पछिको खोज तथा उद्धारमा सरकारले केही काम गरे पनि सुरुङ र पावर हाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे । बाढीमा परि सम्पर्कविहीन भएका इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावर हाउसमा फसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले ६ दिनदेखि भतिज निरजको उद्धार गरिदिन भन्दै राज्यका निकायहरमा हारगुहार गर्दा समेत अपेक्षित सहयोग पाउन नसकेको बताए । उनले सरकारले जंगलमा रहेका तथा अन्य नागरिकको उद्धार गरेको भए पनि सुरुङ र पावर हाउसमा रहेका नागरिकको उद्धारमा प्रभावकारी काम गर्न नसकेको बताए । उनले बेल्चा लिएर गएर मात्र सुरुङ खोल्न नसकिने भन्दै उनले विदेशको सहयोगमा भए पनि नागरिकको उद्धार प्रणाली प्रभावकारी बनाउन माग गरे ।
उनले भने, ‘मेरो भतिज सम्पर्कविहीन भएको छ । मैले उसको उद्धारको लागि मन्त्रालय र राज्यका निकायहरूसँग समेत हारगुहार गरिरहेका छौँ । त्यहाँ मेरो भतिज मात्र होइन थुप्रै जना अड्किनुभएको अवस्था छ । सरकारले उद्धार गरेको छ नगरेको होइन । तर प्राथमिकता कतातिर हुनुपर्ने हो त्यतातिर प्राथमिकतामा परेन जस्तो हो । अस्ति मात्र त्रिसुली एमा नै मन्त्रीज्यूले मसिन लैजान सकिएन भन्ने जवाफ बाढी आएको तेस्रो दिनमा जवाफ दिनुभयो । उद्धार गर्ने भनेर केही उद्धारकर्मीहरू बेल्चा लिएर परिचालन गरिएको थियो । अब भन्नुस् हाम्रो व्यवस्थापकीय क्षमता कस्तो रैछ ?’
नारायणी जोशीले आफ्ना श्रीमानसहित नेपाल विद्युत् प्राधिकरणका ४० जना कर्मचारी त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा उद्धारको पर्खाइमा रहेको बताए । उनले त्रिशूली थ्री ए को पावर हाउस अन्य पावर हाउसको तुलनामा सुरक्षित रहेको जानकारी पाएपछि परिवारजन उनीहरू जीवितै रहेको आशामा उद्धारको प्रतीक्षा गरिरहेको बताए । उनले उद्धारको पखाईमा रहेका नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले एकदुई जना नभई सुरुङ र पावर हाउसमा सयौँ नागरिक फसेपनि सरकारले यस्तो जटिल स्थितिलाई समेत हलुका रूपमा लिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
उनले भने, ‘१० असारको बाढीमा मेरो श्रीमानसहित ४० जना एनइएका कर्मचारी त्रिसुली थ्री एमा हाइड्रोपावरमा अड्किएर बस्नुभएको छ । त्यो पावर हाउस अन्य पावर हाउसभन्दा सेफ छ भन्ने सुनिएको छ । त्यस कारण हाम्रा आफन्तहरू त्यहाँ जीवित छन् भनेर आशासहित राज्य संयन्त्रसँग हारगुहार गरिरहेका छौँ । उद्धारमा नै सरकारको सक्रियता छैन । यति क्रिटिकल कुरालाई गर्भमेन्टले यति हलुका रुपामा कसरी लियो । बाढी आएको दोस्रो दिनमै उद्धार हुनुपर्नेमा ६ दिन भइसक्यो । सरकारको प्राथमिकता के हुनुपर्थ्यो ?’
सम्पर्कविहीन भएका नागरिकका आफन्तले उद्धारमा सरकारको सक्रियता पर्याप्त नभएकै कारण बाढी आएको ६ दिन बितिसक्दा पनि आफन्तहरू सम्पर्कमा नआएको भन्दै आक्रोश समेत व्यक्त गरे ।






