अछाम । अछामको मंगलसेन नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३४ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको सोमबार बसेको बैठकले नगर प्रमुख, जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको सेवा–सुविधा र नगर विपद् कोषबाट सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने निर्णय गरेको हो।
नगर प्रमुख पदमबहादुर बोहराका अनुसार नगर विपद् व्यवस्थापन कोषबाट २ लाख ५१ हजार जम्मा गरिनेछ। यस्तै, नगर प्रमुखले १ महिनाको, कार्यपालिका सदस्यहरूले ७ दिनको र वडा सदस्यहरूले ५ दिनको सेवा-सुविधा सहयोग गर्नेछन्।
यसैगरी, अधिकृत स्तरका कर्मचारी तथा माध्यमिक तहका शिक्षकको ७ दिनको, सहायक स्तरका कर्मचारी तथा आधारभूत तहका शिक्षकको ५ दिनको र बाल विकास सहजकर्ता तथा श्रेणीविहीन कर्मचारीको २ दिनको तलब भत्ता कट्टा गरी कुल ३४ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउन लागिएको नगरपालिकाले जनाएको छ।







