काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद्लाई प्राथमिकतामा राख्दै सरकारले यस वर्षको २३औँ निजामती सेवा दिवसका लागि तय गरिएका सबै औपचारिक कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो ।
नेपाल-चीन सीमा क्षेत्रमा पर्ने रसुवागढीमा आएको भीषण बाढीपछि मुलुक शोकमा रहेको र उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीसमेत परिचालन हुनुपर्ने अवस्था रहेकाले दिवसका कार्यक्रम नगर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने तयारी थियो । दिवसका लागि छुट्याइएको बजेट भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्थानान्तरण गरी विपद् व्यवस्थापनमा उपयोग गर्ने व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
विपद्को समयमा नियमित प्रशासनिक दायित्वसँगै उद्धार, खोज तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्ने अवस्थालाई दृष्टिगत गरी दिवससँग सम्बन्धित खर्चलाई राहत कोषमा केन्द्रित गर्ने निर्णय गरिएको हो ।






