काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नर्वेका राजा हेराल्ड पाँचौँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त राजपरिवार तथा नर्वेली जनताप्रति समवेदना प्रकट गरेका छन् ।
मंगलबार ललितपुरको पुल्चोकस्थित नर्वेली दूतावासमा पुगेर उनले शोक पुस्तिकामा श्रद्धाञ्जली सन्देश लेख्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट राजा हेराल्ड पाँचौँको निधनप्रति समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री खनालले राजा हेराल्ड पाँचौँलाई ‘सम्मानित तथा सरल व्यक्तित्वका धनी सम्राट’का रूपमा स्मरण गर्दै नर्वेप्रति उहाँले लामो समयसम्म पुर्याएको समर्पित सेवामा प्रज्ञा, विनम्रता, करुणा तथा कर्तव्यप्रतिको अटल निष्ठा प्रतिबिम्बित भएको उल्लेख गरेका छन् ।
“शान्ति, संवाद, सहिष्णुता र आपसी समझदारीप्रतिको उहाँको दृढ प्रतिबद्धताले उनको शासनकालभन्दा लामो समयसम्म स्मरणीय रहने विरासत छाडेको छ”, मन्त्री खनालले शोक पुस्तिकामा उल्लेख गरेका छन् ।
राजा हेराल्ड पाँचौँले नर्वेको गरिमापूर्ण प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय समुदायसँगको मित्रता र सहकार्य अभिवृद्धि गर्न पुर्याएको योगदान पनि सदैव स्मरणीय रहने उनले बताएका छन् ।
“अन्तर्राष्ट्रिय समुदायसमक्ष नर्वेको गरिमापूर्ण प्रतिनिधित्व गर्दै मित्रता र सहकार्यलाई सुदृढ बनाउन उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ”, मन्त्री खनालले उल्लेख गरेका छन् ।
उनले शोकसन्तप्त नर्वेली राजपरिवार तथा सम्पूर्ण नर्वेली जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत राजा हेराल्ड पाँचौँका आदर्शले शोकमा रहेका सबैलाई शक्ति र प्रेरणा प्रदान गरिरहने विश्वास व्यक्त गरेका छन् ।
“यस गम्भीर दुःख र राष्ट्रिय शोकको घडीमा नेपाल सरकार र नेपाली जनता नर्वे सरकार तथा नर्वेली जनतासँगै उभिएका छन्”, मन्त्री खनालले सन्देशमा उल्लेख गरेका छन् ।






