काठमाडौँ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका सात स्थानीय तहले रु. एक करोडभन्दा बढी सहयोग गरेका छन् ।
जिल्लास्थित राजनीतिक दल, संघ-संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका हुन् । बेथानचोक गाउँपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको विपद् कोषबाट रु. १५ लाख र जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा तथा पारिश्रमिकबाट रु. २० लाख उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । रसुवा बाढीमा यस गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएका छन् ।
यसैगरी पनौती नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट संकलन भएको रकममा थप गरी रु. ३० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख रामशरण भण्डारीले बताए ।
बनेपा नगरले रु. १५ लाख, पाँचखाल र धुलिखेल नगरपालिका, रोशी र चौँरी देउराली गाउँपालिकाले रु. १०-१० लाख रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताए ।
यसैबीच नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले केन्द्रीय समितिमार्फत सरकारलाई सहयोग गर्ने उद्देश्यले रु. १७ लाख ६६ हजार बुझाएको छ । यस्तै सामुदायिक सहकारी पनौतीले रु. पाँच लाख, बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालय बनेपाले रु. पाँच लाख तथा चित्रन्य हार्डवेयरले रु. तीन लाख ३३ हजार, मनकामना सहकारीले रु. एक लाख ५० हजार दिने निर्णय गरेका छन् ।
भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३९ जना काभ्रेपलान्चोक नागरिक अझै सम्पर्कविहीन भएका जानकारी आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लाका सम्पर्कविहीनमध्ये आठ जना परिवारको सम्पर्कमा आइसकेका छन् ।






