काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा कार्यरत भई सम्पर्कविहीन रहेका राष्ट्रसेवक कर्मचारीका परिवारजनसँग भेट गरी खोजी तथा उद्धारमा सरकारका तर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन्।
परिवारसँगको भेटमा मन्त्री श्रेष्ठले लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै सूचना प्राप्त नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गरे। सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी प्राप्त गर्न नसक्दा सरकार पनि गम्भीर रूपमा चिन्तित र मर्माहत रहेको उनले बताए।
हरेक नागरिकको जीवनलाई राज्यले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै श्रेष्ठले एक जनाको खोजीमा समेत राज्यका तर्फबाट कुनै कमी हुन नदिइएको बताए। खोज तथा उद्धारका लागि उपलब्ध दक्ष जनशक्ति, प्रविधि, स्रोत तथा राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको जानकारी उनले परिवारजनलाई गराए।
एक सातासम्म खोजी तथा उद्धारका प्रयास जारी रहँदा पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्नुले चिन्ता थपिएको मन्त्री श्रेष्ठले बताए। यद्यपि, कठिन भौगोलिक तथा परिस्थितिजन्य अवस्थाबीच पनि खोजी कार्य नरोकिएको उनको भनाइ थियो।
परिवारजनलाई धैर्य कायम राख्न आग्रह गर्दै मन्त्री श्रेष्ठले सम्भावना रहेसम्म उद्धार प्रयासलाई निरन्तरता दिने बताए। उनले अहिले नै आशा त्याग्ने अवस्था नरहेको उल्लेख गर्दै खोजीको प्रयाससँगै आशा कायम राख्न परिवारजनलाई आग्रह गरे।
सरकार प्रभावित परिवारको साथमा रहेको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले कठिन परिस्थितिमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे। राज्यका तर्फबाट सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको खोजीलाई निरन्तरता दिइने उनले बताए।
भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले विभिन्न सरकारी निकायबीच समन्वय र सहकार्यका आधारमा खोज तथा उद्धार कार्य सञ्चालन भइरहेको जानकारी दिइन्। नागरिकको जीवन रक्षा राज्यको प्रमुख दायित्व भएकाले उपलब्ध सबै उपायको उपयोग गरेर खोजी तथा उद्धार अघि बढाइएको उनले बताइन्।
चिलिमे जलविद्युत् कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि हालसम्म भएका खोजी तथा उद्धारका गतिविधिबारे परिवारजनलाई जानकारी गराए। कम्पनीका तर्फबाट खोज तथा उद्धारलाई प्रभावकारी बनाउन आवश्यक सबै प्रयास भइरहेको उनले बताए।






