काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी र पहिरोबाट अति प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपदबाट पीडित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका गुनासा सुनेका हुन् । उक्त क्षेत्रमा एमाले सम्बद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् ।
धादिङको अवलोकनपश्चात उनले नुवाकोटको बेलकोटगढी नगरपालिकाका केही प्रभावित स्थानहरूको समेत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले बाढी र पहिरोले पुर्याएको भौतिक क्षति र राहत वितरणको अवस्थाबारे जानकारी लिएका छन् ।






