काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलमा कार्यरत एक नायब सुब्बाले कार्यालय सहयोगीबाट कार्यालय समयमै कुटपिट भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
विभागका नायब सुब्बा दिवश श्रेष्ठले कार्यालय सहयोगी भक्त बस्नेतले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएको बताएका हुन्। घटना भदौ १७ गते अपराह्न करिब ३ बजे विभागको कार्यालयमै भएको उनको भनाइ छ।
प्रहरीमा दिएको जाहेरी र प्रशासनलाई दिएको जानकारीअनुसार उनी त्यसदिन कार्यालयमा काम गरिरहेका बेला कालो चिया खान माथिल्लो तलामा रहेको आयात–निर्यात शाखातर्फ गएका थिए। त्यसबेला शाखामा एक अधिकृत, एक नायब सुब्बा र कार्यालय सहयोगी बस्नेतसहित कर्मचारीबीच सामान्य कुराकानी भइरहेको थियो।
सामान्य कुराकानीबाट सुरु भएको विवाद
उनका अनुसार सुरुमा निजामती सेवामा बढुवालगायत विषयमा सामान्य कुराकानी भइरहेको थियो। कुराकानीकै क्रममा कार्यालयबाट हुने अनुगमनको प्रसङ्ग उठेको थियो।
त्यसक्रममा आफूले यस्तो पनि गर्नुहुन्छ ? भन्ने आफ्नो प्रश्न पछि सुरु भएको नायब सुब्बाको भनाई छ।
उनका अनुसार बस्नेतले आफ्नो व्यक्तिगत जीवनमा आँच आउने किसिमका कुरा नगर्न भनेपछि भनाभन भएको थियो। विवाद बढ्दै जाँदा बस्नेतले आफूलाई तीन–चार मुक्का प्रहार गरेको उनको आरोप छ।
प्रहरीलाई खबर, अस्पतालमा स्वास्थ्य परीक्षण
घटनापछि आफूले तत्काल प्रहरीलाई खबर गरेको नायब सुब्बाले बताएका छन्। त्यसपछि स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल गएको र त्यहाँ स्वास्थ्य परीक्षणसँगै टिटानसविरुद्धको खोपसमेत लगाएको उनको भनाइ छ।
कुटपिटबाट आफ्नो दाहिने हातमा चोट लागेको उनले बताएका छन्।
कार्यालय समयमै आफूमाथि कुटपिट तथा अभद्र व्यवहार भएको र कार्यस्थलमै असुरक्षाको अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले प्रहरीमा जाहेरी दिएका हुन्।






