सिरहा । सिरहा कारागारमा रहेका कैदीबन्दीहरूले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ४५ हजार रुपैयाँ सहयोग गरेका छन्।
कारागार कार्यालय सिरहाका अनुसार कैदीबन्दीहरूले स्वेच्छाले जुटाएको उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, सिरहामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै कारागार कार्यालयका कर्मचारी तथा सम्पूर्ण कैदीबन्दीहरूले दु:ख व्यक्त गरेका छन्।
कारागार कार्यालयले उक्त प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको सकुशल उद्धारको कामनासमेत गरिएको छ।
कारागार कार्यालयका अनुसार बाढी प्रभावित व्यक्तिहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले कैदीबन्दीहरूले स्वेच्छाले रकम संकलन गरेका हुन्।
कारागार प्रशासक विक्रम श्रेष्ठले जारी गरेको जानकारीअनुसार उक्त रकम सोही दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।






