काठमाडौँ । नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाएको आरोपमा वीरगञ्जस्थित एक क्यासिनोका चार कर्मचारी पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज महानगरपालिका-१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज-२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका-५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज-१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।
प्रहरीले क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका-६ का ३६ वर्षीय जसवन्त यादव र ३० वर्षीय चन्दन सहनी तथा वीरगञ्ज महानगरपालिका-११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।
त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३६ वर्षीय प्रदीप पौडेल पनि पक्राउ परेका छन्। पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।






