काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणकी प्रवक्ता शान्ति महतले मृतकमध्ये ९८ जनाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकेको बताइन् । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित रहेका छन् ।
अन्तर्राष्ट्रिय विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेको उनले बताइन् । प्रवक्ता महतले बाढीले क्षति पुर्याएका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा समेत खोजी कार्य जारी रहेको बताइन् । उनका अनुसार हाल त्रिशूली–३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली-३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर उद्धार टोलीले खोजी गरिरहेको छ । उनले नेपाल प्रहरीको श्रव्य दृश्य विज्ञ टोलीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको निरीक्षण, अवलोकन तथा विवरण संकलन गरी खोज तथा उद्धारमा सहजीकरण गरिरहेको बताइन् ।
उनले भनिन्, ‘रसुवाको भोटेकोशी र त्रिशूली नदिमा बाढी आएको आज १२ दिन पुरा भएको छ । सरकारले विपद्पछिको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । राज्यका सबै संयन्त्र, प्राविधिक र विशेषज्ञ विज्ञहरू आज पनि यस कार्यमा सक्रिय हुनुभयो । यस कार्यमा अन्तर्राष्ट्रिय विज्ञहरूले समेत सहयोग गरिरहनुभएको छ । खोज, उद्धार तथा राहत कार्यको समीक्षा गर्न आज दिउँसो भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीज्यू र माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठक सम्पन्न भएको छ । त्यसै गरी, विषयगत क्षेत्रका निकायहरू, क्लस्टर लिड र रसुवा बाढीपछिको खोज, उद्धार तथा राहत समन्वयको लागि गठित परिचालित टोलीको संयुक्त बैठक सम्पन्न भएको छ । आज पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा खोजी कार्य जारी रह्यो । त्रिशूली ३ एमा १६० मिटर, त्रिशूली ३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर चिलिमेमा १७० मिटर, अप्पर त्रिशूली १ को टनेलसम्म पुगेर खोजी कार्य निरन्तर जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार कार्यमा खटिएको छ । पर्यटक प्रहरीले उद्धार भएर आएका पर्यटक तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजिकरणका लागि खटिएको छ । नेपाल प्रहरीको श्रव्य दृश्य विज्ञ टोली ड्रोनमार्फत बाढी प्रभावित खोला किनारहरूमा वस्तुस्थितिको बारेमा निरीक्षण, अवलोकन र विवरण संकलन गरी खोज तथा उद्धारमा सहजीकरण गरिरहेको छ । यातायात व्यवस्थासम्बन्धमा पनि कामहरू भइरहेका छन् । यस दु:खद् घटनामा ज्यान गुमाएका १ हजार ३ सय ४२ शव फेला परेका छन् । जसमध्ये ९८ वटा शवको सनाखत भइसकेको छ । सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको डिएनए परीक्षणको कार्य समेत भइरहेको छ ।’
उनले बाढीमा बेपत्ता भएका तथा फेला परेका शवको पहिचानका लागि आफन्त तथा नातेदारको डिएनए परीक्षण भइरहेको समेत बताइन् ।






